Sunday, December 18, 2016

बाढीले मुस्ताङमा ८ पुल बगायो

  • जोमसोम–लोमान्थाङ–कोरला सडक अवरुद्ध
पुस ३, २०७३- उपल्लो मुस्ताङको घमीमा आएको बाढीले जोमसोम–लोमान्थाङ–कोरला सडक अवरुद्ध भएको छ ।
शनिवार रातीको बाढीले ८ काठे पुल बगाएको र ठूलठुला ढुंगासमेत ल्याएर सडक अवरुद्ध बनाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद पोखरेलले बताए । पोखरेलका अनुसार घमी ८ र ९ वडाको ढाकमार क्षेत्रमा राति बाढी आएको हो । उक्त क्षेत्रमा ठूला हिमाल नरहेको र हिमपात पनि नभएको अवस्थामा कसरी बाढी आयो भन्ने यकिन हुन नसकेको उनले बताए । ‘दुर्गम ठाउँ भएकाले विस्तृत जानकारी आएको छैन ।,’ पोखरेलले टेलिफोनमा भने, ‘सडक अवरुद्धबाहेक अरु क्षति भएको जानकारीमा छैन ।’ खानेपानीको पाइपमा पनि क्षति पुगेको जनाइएको छ  ।
अत्याधिक चिसो भएकाले उपल्लो मुस्ताङवासी पोखरा, म्याग्दी, काठमाडांैलगायत भारततर्फ लागिसकेका छन् । उक्त क्षेत्रमा ३ हजार जनसंख्यामा ५ सयजना पनि अहिले घरमा नरहेको पोखरेलले बताए । उक्त सडकमा अहिले मुस्किलले दैनिक एउटामात्रै सार्वजनिक सवारी साधन गुड्ने गर्छ । लोमान्थाङ इलाका प्रहरी कार्यालयबाट करिब १५ किलोमिटर तल पर्ने ढाकमारमा प्रहरी टोली पठाइएको छ उनले बताए ।

Source: कान्तिपुरसमाचार



No comments:

Post a Comment